दरबारमार्गमा सवारी आवागमन बन्द

  • राजधानी पत्र
  • / कला/संस्कृति /
  • २०८१ आश्विन २, बुधबार (४ महिना अघि)
  • १३६ पटक पढिएको
Post Thumbnail

२ असोज, काठमाडौं। संविधान दिवसको अवसरमा दरबारमार्गमा आयोजना हुने सांगीतिक कार्यक्रमको तयारीस्वरुप स्टेज निर्माण कार्य भइरहेको हुँदा सो क्षेत्रको सवारी आवागमनमा रोक लगाइएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटी दक्षिणगेटतर्फ जाने सवारीलाई जमलतर्फ डाइभर्ट गरिएको छ भने जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारीलाई कृष्ण पाउरोटीको मार्गतर्फ मोडिएको छ। त्यस्तै, महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जान चाहने सवारी साधनहरुलाई घण्टाघरतर्फ पठाइने भएको छ।

सरकारले संविधान दिवसको मूल समारोह असोज ३ गते सैनिक मञ्च, टुँडीखेलमा आयोजना गर्ने निर्णय गरेको छ। सोही दिन साँझ नारायणहिटी दरबार अगाडिको सडकमा ‘नेशनल डे कन्सर्ट’को रुपमा सांगीतिक कार्यक्रम हुनेछ।

२०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको ऐतिहासिक क्षणलाई सम्झदै प्रत्येक वर्ष यो दिन राष्ट्रिय दिवसको रुपमा मनाइन्छ। यसै सन्दर्भमा, गृह मन्त्रालयले असोज २, ३, र ४ गते दीपावलीसहित विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउन मातहतका कार्यालयलाई निर्देशन दिएको छ।

कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमन लगायतका चर्चित गायक-गायिकाहरुका साथै कुटुम्ब र एलिमेन्ट्सजस्ता लोकप्रिय ब्याण्डहरूले प्रस्तुति दिनेछन्।

यस सांगीतिक कार्यक्रमले नेपालको लोकतान्त्रिक यात्रा, संविधान निर्माणमा भएको ऐतिहासिक योगदान, र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।

 दरबारमार्गमा सवारी आवागमन बन्द, स्टेज निर्माण कार्य जारी

ताजा अपडेट

खोजी गर्नुहोस