४ असोज, काठमाडौं — सहकारी बचत रकम छानबिन समितिले गोर्खा मिडिया नेटवर्क प्रालि मार्फत भएको सहकारी रकम अपचलनको विषयमा रवि लामिछानेमाथि कारबाही गरिनुपर्ने पाँचवटा मुख्य आधार सार्वजनिक गरेको छ।
शुक्रबार सार्वजनिक गरिएको समितिको पूर्ण प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कमा ४३ करोड ७ लाख ७४ हजार ५३८ रुपैयाँ विभिन्न सहकारी संस्थाहरूबाट आएको देखाएको छ। समितिको निष्कर्ष अनुसार, सूर्यदर्शन, सुप्रिम, सहारा, स्वर्ण लक्ष्मी, र सानो पाइला सहकारीहरूबाट आएको यो रकम गैरकानूनी हो।
समितिले कतिपय सहकारीहरूले सापटी र कतिपयले ऋण लिएर यो रकम प्रवाह गरेको भए पनि, कुनै पनि विधि वैधानिक नभएको ठहर गरेको छ। यसरी गैरकानूनी रूपमा रकम आएको ठहरपछि समितिले गितेन्द्रबाबु राई (जीबी) र रवि लामिछाने लगायतका व्यक्तिहरूलाई रकम हिनामिनामा संलग्न देखाएको छ।
समितिले लामिछानेको संलग्नता पुष्टि गर्ने पाँचवटा आधार यसप्रकार छन्:
१. बयान र प्रमाण: रवि लामिछानेले दिएको बयान समितिले विश्लेषण गर्दा उनी दोषी देखिने प्रमाणहरू रहेको उल्लेख गरेको छ। सहकारीबाट गोर्खा मिडियामा रकम आउने प्रक्रियामा उनले प्रत्यक्ष संलग्नता रहेको प्रमाण नभेटिए पनि, रकम परिचालन र खर्च प्रक्रियामा लामिछानेको सहभागिता रहेको प्रतिवेदनमा लेखिएको छ।
२. बैंक खाता सञ्चालन: लामिछाने, जीबी राई, र छविलाल जोशीको संयुक्त बैंक खाता रहेको र सो खाताबाट लामिछानेले एकल हस्ताक्षरमा चेक साटेको पाइएको छ। यो प्रक्रिया उनलाई कारबाहीको लागि बलियो आधार मानिएको छ।
३. श्वेट शेयर विवाद: लामिछानेले आफूलाई श्वेट शेयर दिइएको भने पनि, समितिले यसको कुनै कानूनी प्रबन्ध नेपालमा नरहेको र यो दाबीलाई प्रमाणले पुष्टि गर्न नसक्ने बताएको छ।
४. कम्पनी रजिष्ट्रारको किर्ते भौचर: समितिले कम्पनी रजिष्ट्रारको कार्यालयमा जीबी राईबाट शेयर लिएको भनेर पेश गरिएको भौचर किर्ते भएको ठहर गरेको छ।
५. जिम्मेवारी बहन: समितिले गोर्खा मिडियामा खर्च भइरहेको रकमबारे कुनै फरक मत नदेखिएको कारण, लामिछानेले समेत उत्तरदायित्व लिनुपर्ने निष्कर्ष निकालेको छ।
प्रतिवेदनले यसबारे थप छानबिन र कानूनी कारबाही अघि बढाउनुपर्ने सिफारिस गरेको छ।