१० असोज, काठमाडौं । रवि लामिछाने पहिलो पटक गृहमन्त्री हुँदासम्म जीबी राईको नाम उति साह्रो सुनिएको थिएन ।
उनी दैनिकजसो पुल्चोकस्थित मन्त्री क्वार्टरमै पुगेर रविलाई भेट्थे । जिबी मन्त्री क्वार्टरमा पुग्दा अहिले सहकारी ठगीमा थुनामा रहेका कुमार रम्तेल प्रायः छुट्दैनथे ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट २० सिटसहित संसद्मा पुगेका रविले ११ पुस २०७९ मा गृह प्रशासनकै नेतृत्व सम्हाल्ने मौका पाए । तर, नागरिकता विवादका कारण लामो समय पदमा टिक्न सकेनन् । एक महिनामै पदमुक्त भए पनि उनी उपचुनावमार्फत फेरि संसद् प्रवेश गरे ।
दुई वर्षपछि रवि फेरि गृहमन्त्री त बने । तर, परिस्थिति फेरिइसकेको थियो ।
रविका पूर्वसाझेदार जिबी राईविरुद्ध सर्वसाधारणको करोडौं रकम अपचलन गरेको आरोपमा प्रहरीमा जाहेरी दर्ता भइसकेको थियो । राईले सहकारीको रकम निकालेर गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको थियो ।
राजनीतिमा आउनुअघि ग्यालेक्सी टिभी भनेकै रविजस्तो छनक दिने गरी प्रचार गरिएका थिए । उनकै तस्वीरसहित चोक–चोकमा ग्यालेक्सी टिभीका होर्डिङ बोर्ड र प्रचार सामग्री राखिएका थिए ।
तर, जीबीसँग टेलिभिजनको सहकार्य बीचमै छाडेर रवि राजनीतितिर होमिएका थिए । जिबी निकटस्थहरुका अनुसार, रविकै भर परेर उनले टिभी खोलेका थिए । तर, उनैले ‘धोका’ दिएपछि जीबी बिचल्ली परे ।
रवि दोस्रो पटक गृहमन्त्री बन्ने दौडमा रहँदा उनका साझेदार जिबी भने सहकारी ठगका रुपमा खास चर्चामा थिए । उनी उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेपछि नेपाली कांग्रेसले उनीमाथि सहकारी ठगीमा संलग्न रहेको आरोप लगायो र संसदीय छानबिन समिति नै गठन भयो ।
संसदीय छानबिन समितिले विभिन्न सहकारीबाट ६५ करोड रुपैयाँ ल्याएर टेलिभिजन खोलेको निष्कर्ष निकाल्दै रविलाई पनि कारबाही सिफारिस गर्यो ।
तत्कालीन प्रबन्ध निर्देशक एवं १५ प्रतिशत शेयरका धनी रविले भने आफूलाई त्यसबेला लगानी कहाँबाट आएको थियो भन्ने थाहा नभएको जिकिर गरिरहेका छन् ।
यस्तोमा ओखलढुंगाको सामान्य परिवारका गितेन्द्रबाबु राई कसरी काठमाडौं आएर एकाएक धनाढ्य बन्न पुगे ? अनि, कसरी रविसँग मिलेर टेलिभिजन खोल्नेतिर लागे ? अनि, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी पनि उनको ठगी धन्दामा कसरी जोडिए ? यिनै प्रश्नको जवाफ खोल्ने प्रयास गरेका छौं ।