राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन: विश्व शान्तिमा थप योगदान गर्न नेपाल तयार छ

  • राजधानी पत्र
  • / नेकपा एमाले /
  • २०८१ आश्विन ११, शुक्रबार (४ महिना अघि)
  • ८४ पटक पढिएको
राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन: विश्व शान्तिमा थप योगदान गर्न नेपाल तयार छ

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सम्बोधन गर्दै नेपालले विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन्। शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताको रूपमा नेपालले आफ्नो भूमिका अझ बलियो बनाउन तयार रहेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले बिहीबार महासभामा सम्बोधन गरे। सम्बोधनका क्रममा उनले कसैलाई पनि पछाडि नपार्ने गरी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास, र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गरे।

सशस्त्र द्वन्द्वपछि नेपालले शान्ति स्थापनाका क्रममा भोगेका आरोह-अवरोहहरूको व्याख्या गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले हालै संसदबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित गरेको जानकारी दिए।

प्रधानमन्त्री ओलीले भने, “दुई ठूला राजनीतिक दलको सहकार्यमा बनेको वर्तमान सरकार नेपाली जनताको समावेशी र समतामूलक समृद्धिका लागि आर्थिक रूपान्तरणलाई अघि बढाउँदै स्थायित्व कायम गर्न कटिबद्ध छ। सबैसँग मित्रता, छैन कसैसँग शत्रुता भन्ने विश्वासका साथ हाम्रो विदेश नीति सञ्चालन गरिरहेका छौँ।”

प्रधानमन्त्री ओलीले इजरायल-प्यालेस्टाइन द्वन्द्वको समाधान शान्तिपूर्ण संवादबाट हुनुपर्नेमा जोड दिए।

उनले नेपाल सन् २०२६ भित्र अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने, तर सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्न २४ बिलियन अमेरिकी डलरको आर्थिक खाडल रहेको कुरा पनि महासभामा उठाएका थिए।

महासभामा प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल लगायत अन्य अधिकारीहरू सहभागी थिए।

ताजा अपडेट

खोजी गर्नुहोस