काठमाडौं महानगरले उद्धारमा खटायो १७ टोली बनाएर ३०० नगर प्रहरी

  • राजधानी पत्र
  • / समाचार /
  • २०८१ आश्विन १२, शनिबार (३ महिना अघि)
  • १३० पटक पढिएको
काठमाडौं महानगरले उद्धारमा खटायो १७ टोली बनाएर ३०० नगर प्रहरी

काठमाडौं: निरन्तर परेको वर्षाका कारण उपत्यकामा आएको विपद् व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले ठूलो संख्यामा नगर प्रहरी परिचालन गरेको छ। महानगर प्रमुख बालेन शाहले सामाजिक संजालमार्फत् जानकारी दिँदै नगर प्रहरीका १७ वटा टोलीमा ३०० जना जवानलाई विभिन्न जोखिमयुक्त स्थानमा परिचालन गरिएको बताए।

नगर प्रमुख शाहले विपद् व्यवस्थापनका लागि प्रमुख बाढी प्रभावित क्षेत्रहरूमा नगर प्रहरी परिचालन गरिसकिएको र डुबान भएका बस्ती, नदी किनारा, तथा रुख ढलेर अवरुद्ध भएका सडकहरूमा जनधनको क्षति न्यूनीकरण गर्न प्रयास भइरहेको जनाएका छन्। उनले उल्लेख गरेका क्षेत्रहरूमा वंशीघाट, कुशेश्वर, कपुर धारा, जडिबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शंखमुल, न्युरोड, र गणेशस्थान रहेका छन्।

स्थानीयका सूचनालाई तत्काल सम्बोधन

शाहले स्थानीयवासीले दिएको सूचना तथा हटलाइनमा आएका अनुरोधहरूलाई तत्काल सम्बोधन गर्दै उद्धार कार्य अघि बढिरहेको बताए। “यस्तो विपद् परिस्थितिमा आफ्नो र परिवारको सुरक्षा गर्नुका साथै आपतमा परेकालाई बचाउनु प्रत्येक नागरिकको दायित्व हो,” उनले सामाजिक सञ्जालमा लेखेका छन्। साथै, उनले विपद् सामना गर्न सबैलाई सतर्क रहन र पूर्व तयारी गर्न आग्रह गरे।

महानगरका हटलाइनहरू

नगर प्रमुखले महानगरका हटलाइन नम्बरहरू १६६००१०५५११, ११८०, र नगर प्रहरी बलको हटलाइन नम्बर ९८५१३५६५०९ मा सम्पर्क गरी अवस्था बारे जानकारी दिन पनि अनुरोध गरेका छन्। साथै, आपतकालीन अवस्थामा अस्पताल जान निःशुल्क एम्बुलेन्सको सेवा लिन १०२ नम्बरमा फोन गर्न सुझाव दिएका छन्।

बाढीका कारण डुबान, पुल बग्यो, यातायात अवरुद्ध

हाल उपत्यकाका बागमती, नख्खु, बल्खु, हनुमन्ते, र विष्णुमती जस्ता प्रमुख नदीहरूमा बाढीको उच्च बहाव भइरहेको छ। मनोहरा र घट्टेखोला जस्ता खोलाहरूले सडक र बस्तीहरू डुबानमा पारेका छन्। केही स्थानमा पुल बगेका छन् भने मुख्य सडकहरूमा पानी जमेर यातायात अवरुद्ध भएको छ। उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति पनि अवरुद्ध भएको छ, जसले जनजीवनमा थप कठिनाइ पैदा गरेको छ।

महानगरको यो पहलले आपतकालीन अवस्थामा जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस