खुर्कोट(सिन्धुली) — सिन्धुलीमा बाढी पहिरोमा परेर दुइजनाको मृत्यु भएको छ । केही घर बगाउनुको साथै केही डुबानमा परेका छन् ।बीपी, पुष्पलाल र मदन भण्डारी तीनवटै राजमार्ग ठप्प भएको छ । सुनकोसी गाउँपालिका १ दुम्जामा पहिरोमा परेर १२ वर्षीय बालक विनय कोइरालाको मृत्यु भएको छ । पहिरो खसेपछि भाग्नेक्रममा पुरिएर बालक कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै कमलामाइ नगरपालिका ९ को सुकेखोलाले बगाउँदा स्थानीय ४६ वर्षीय कृष्णबहादुर बोगटीको मृत्यु भएको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।गोलन्जोर गाउँपालिका ७ को खुर्कोट बसपार्क क्षेत्रमा सुनकोसी नदीको बाढी पस्दा दर्जनौं घर बगाएको छ भने केही पक्की घर डुबानमा परेका छन् । वसपार्क क्षेत्रमा यतिखेर सुनकोसी नदी बगिरहेको छ । नदीको बीच भागमा केही घर अहिलेसम्म पनि ढलेको छैन । स्थानीय मुना श्रेष्ठका अनुसार सुनकोसी नदी बजार क्षेत्रमा आउने कल्पना नै नगरेकाले सरसामान भने केही निकाल्न पाएनन् । दिनको समय भएकाले मानवीय क्षति भने भएन ।रामेछापतर्फबाट सुनकोसीले पक्की पुलको आधा भाग बगाएको छ । सिन्धुलीतर्फको पुलको आधा भाग भने बाँकी रहेको छ । खुर्कोट बसपार्क तथा आसपासका क्षेत्रका विस्थापितहरुलाइ जनता माविमा राखिएको छ ।खुर्कोटमा रहेको सशस्त्र प्रहरीको विपद व्यवस्थापन कार्यालय समेत सुनकोसीको बाढीले बगाएको छ । इलाका प्रहरी कार्यालय खुर्कोटबाट हतियार तथा सरसामाग्री सहित सानासहरी कार्यालयमा प्रहरीहरुले आश्रय लिएका छन् । प्रहरी चौकी दुम्जाको हालत पनि उस्तै रहेको छ ।रोशी खोलामा बाढी बढेपछि प्रहरी आफैं सुरक्षित स्थानतर्फ गएका थिए । नकोसी गाउँपालिकाको मुलकोट बजार पुरै डुबानमा परेको छ । सुनकोसी गाउँपालिका ५ को मुल्कोट बजार डुबानमा पर्नुको साथै सुनकोसी नदी किनारका कटेजहरु बगाएको छ । बजारको सडक माथिका घरहरुमा समेत सुनकोसीको भेल पसेको थियो । मुल्कोटको क्वालीटीबीच रिसोर्ट र आसपासका क्षेत्र डुबान परेको छ ।बीपी राजमार्गको नेपालथोक–धुलीखेल खण्ड अन्तर्गत सुनकोसी गाउँपालिका १ नेपालथोक नजिक रोशी खोलाको बाढीले करिब ६० मिटर सडक बगाएको छ । कालोपत्रे सहितको सडक बगाएर खोलाको बाढी भित्तामा नै पुगेकाले नघटेसम्म यातायात सञ्चालन हुन नसक्ने सिन्धुली प्रहरीका एसपी काफ्लेले बताए । बीपी राजमार्गको कमेरेमा समेत पहिरो खसेको छ । दुम्जाको कुशेश्वर महादेव मन्दिरलाइ रोशी खोला र सुनकोसीले घेरेर फसेका २८ जना बटुक सहित ३३ जनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । गोलन्जोर गाउँपालिका ३ को मुर्कीवेंसीका सयजना स्थानीयलाई कौशिका मावि ग्वाल्टारमा आश्रय दिइएको प्रहरीले जनाएको छ ।