१३ असोज, बुटवल । बुटवलका १५ वर्षे जुम्ल्याहा दीपेश र दीपिका भट्टराई बंगलादेशमा हुन लागेको अन्तरिक्ष र खगोल विज्ञान सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा भाग लिन दुई महिनाअघि छनोट भएका थिए ।
बुटवलको कालिका मानव ज्ञान माविमा कक्षा १० मा अध्ययनरत उनीहरु आफैंले अनलाइन फर्म भरेर जिल्ला, प्रदेश र राष्ट्रियस्तरको प्रतिस्पर्धामा अब्बल भएका थिए । नेपालको प्रतिनिधित्व गर्ने गरी दीपेश पहिलो र दीपिका पाचौं स्थानमा छनोट हुन सफल भएका थिए । प्रतियोगितामा देशभरका विद्यालयबाट १९ जना छनोट भएका थिए ।
बंगलादेश जानुपूर्व उक्त कार्यक्रमको तयारीका लागि तालिम लिन दीपेश–दीपिका आमा सीता भट्टराईसंगै शुक्रबार बिहान बुटवलबाट काठमाडौंका लागि भ्यान चढेका थिए । उक्त कार्यक्रममा ३२ राष्ट्रका विद्यार्थीहरू सहभागी हुंदै थिए । नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा काठमाडौंमा नेसनल एस्ट्रोनोमी ओलम्पियाड २०२४ को पहिलो सेसन सकिएको थियो । त्यसको दोस्रो चरणमा बंगलादेश जाने तयारीका लागि उनीहरू फेरि बुटवलबाट काठमाडौं जांदै थिए ।
उनीहरु शुक्रबार बिहान बुटवलबाट लु १ज ४५७८ नम्बरको विङ्गर भ्यानमा काठमाडौं जान हिंडेका थिए । भारी वर्षाका बीच धादिङको झ्याप्लेमा पुग्दा भ्यान पहिरोमा पर्यो । अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिने मात्र होइन, उनीहरुको जीवनका सबै सपना चुंडिए ।
झ्याप्लेमा गाडी पुरिँदा जुम्ल्याहा दाजु–बहिनी दीपेश–दीपिका, आमा सीता भट्टराई सँगै पहिरोमा पुरिए । उनीहरूलगायत गाडी चालकसहित १४ जनाले सोही पहिरोमा परी ज्यान गुमाए । पहिरोमा पुरिएकामध्ये दीपेश र सीताको पहिचान भइसकेको छ । दीपिकाको अवस्था पहिचान भइसकेको छैन ।
दीपेश र दीपिका ८ हजार विद्यार्थी अध्ययन गर्ने देशकै सर्वोत्कृष्ट विद्यालयका प्रतिभाशाली र मेधावी विद्यार्थी थिए । स्याङ्जाको गल्याङ घर भई बुटवलको शान्तिचोकमा आमा सीता भट्टराईसंग बस्दै आएका थिए ।
दीपेश र दीपिका कक्षा ४ देखि कालिका मानव ज्ञान माविमा पढ्न थालेका थिए । उनीहरुले ऐच्छिक विषय विज्ञान र गणित रोजेका थिए । उनीहरुका बुबा होमनाथ भट्टराई रोजगारीका लागि कोरियामा छन् । एक दिदी र दाइ पढाइका लागि काठमाडौं छन् । उनीहरुको पुर्ख्यौली घर भने स्याङ्जा हो ।
बंगलादेश जान छनोट भएपछि आमा सीता भट्टराईले विद्यालय पुगेर आर्थिक सहयोगको अपेक्षा गरेकी थिइन् ।
‘अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा भाग लिन छनोट भएको थाहा पाएका थियौं, त्यहाँ भाग लिन उनीहरु आफैले फर्म भरेर छनोट भएका हुन्’ विद्यालयका प्राचार्य दिनेश थापाले भने ‘मेधावी विद्यार्थीलाई सक्दो सहयोग गर्नुपर्छ भनेर ७५ हजार रुपैयाँ दिएका थियौं, उनीहरुले कुनै न कुनै उपाधि जितेर आउंछन भन्ने हामीलाई विश्वास थियो तर नसोचेको घटना भयो ।’
दुई छोराछोरीसँगै सीता पहिरोमा पुरिएको खबरले सिंगो विद्यालय परिवार शोकमा डुबेको छ । ‘दुवैजना विशिष्ट क्षमताका विद्यार्थी थिए, पढाइ, अनुशासन र अतिरिक्त क्रियाकलाप सबैमा उनीहरु अब्बल थिए,’ कालिका मानव ज्ञान माविका कक्षा १० का इन्चार्ज दीपक बन्जाडेले भने, ‘दीपेशले अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न सक्ने हाम्रो अनुमान थियो,दीपिकाले पनि कुनै न कुनै उपाधि ल्याउन सक्थिन् ।’
कक्षा शिक्षक ज्ञानेश्वर आचार्यका अनुसार दीपेश गुरुहरुले पढाएको कुरा तत्कालै सजिलै बुझ्न सक्ने र साथीहरुलाई सिकाउन सक्थे । हाजिरीजवाफ, कविता सबैमा अब्बल थिए । ‘दीपेश आँ गर्दा अलंकार बुझ्ने जस्तै असाध्यै तीक्ष्ण वुद्धिका प्रतिभाशाली विद्यार्थी थिए,उनलाई अगाडि सारेर अरु विद्यार्थीलाई सिकाउन सजिलो हुन्थ्यो’, आचार्य भन्छन्, ‘पाठ्यक्रम बाहेकका बाहिरी ज्ञानमा पनि उत्तिकै अब्बल थिए, क्वीज लगायत अन्य बौद्धिक क्षमताका प्रतियोगितामा सधै कहिले प्रथम त कहिले कुनै न कुनै उपाधि जितेर आउंथे, दीपिकाले पनि दीपेशलाई पच्छ्याउंथिन् ।’
दीपेश कालिका बाल क्लबका सल्लाहकार र निवर्तमान सहसचिव थिए भने दीपिका सल्लाहकार र निवर्तमान कोषाध्यक्ष थिइन् ।
दीपेश र दीपिकाको प्रशंसा उनको विद्यालय मात्र होइन उनीहरुलाई चिन्ने अन्य विद्यालयका शिक्षकले समेत उत्तिकै गर्छन् । अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड्मा नेपालबाट छनोट हुने थोरै प्रतिभाशाली विद्यार्थीहरु मध्ये टप वान र टप फाइभ र्यांकमा पर्नु चानचुने कुरो नभएको क्वीज विज्ञ न्यू होराइजन माविका शिक्षक पशुपति अर्यालले टिप्पणी गरे ।
‘दीपेश र दीपिका अध्ययनमा विशेष रुचि राख्ने, मेहनत र निरन्तरतामा नै जिवनको सार्थकता भेटिन्छ भन्ने मान्यता राख्ने होनहार विद्यार्थी थिए, उनीहरु देशकै असल र उत्कृष्ट छात्र छात्राहरू थिए, देशले नै असाधारण प्रतिभाहरु गुमाएको छ’–अर्यालले भने ।
सीताका मामा ससुरा नगेन्द्रराज पाण्डेयले ठूलो सपना लिएर हिँडेका दीपेश–दीपिकासंगै सीता पहिरोमा पुरिएको खबरले परिवारमा बज्रपात परेको बताए । ‘दीपेश–दीपिका आफ्नो क्षमताले केही वर्षमै सिंगो देशले नै चिन्ने मान्छे बन्ने हाम्रो विश्वास थियो, तर, विपत्तिले सबै सपना चुँडायो’–पाण्डेयले भने –‘यो खबरले स्याङ्जा, रुपन्देही, काठमाडौंदेखि कोरियासम्म शोक छाएको छ ।’