धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा दसैं पर्व सकिएसँगै पर्यटकीय चहलपहल ह्वात्तै बढेको छ। दसैं पर्वमा मान्यजनबाट टीका थाप्ने कार्यक्रम सकिए लगत्तै आइतबारदेखि मुस्ताङमा पर्यटकीय गतिविधि अप्रत्याशित रूपमा वृद्धि भएको हो।
बडा दसैंको पछिल्लो दिन आइतबारदेखि मुस्ताङमा स्वदेशी तथा आन्तरिक पर्यटकको लर्को लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। दसंै पर्व अवधिमा सरकारी कार्यालय, निजी संघसंस्था, बैंक तथा वित्तीय संस्था, स्कुल कलेज र विदेशबाट दसैं पर्व मनाउन घर फर्किएकाहरूलाई लामो बिदा हुने भएकाले मुस्ताङमा पर्यटकीय चहलपहल बढेको हो। यस अवधिमा युवायुवतीहरूमा मुस्ताङ घुम्ने क्रेज बढेको हो।
दसैं पर्वको पछिल्लो २ दिनमा म्याग्दी र मुस्ताङको सिमाना घाँसा हुँदै कुल ५ हजार ८ सय ९८ जना स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिए। उनका अनुसार विजया दशमीको घटनास्थापनादेखि सोमबारसम्ममा कुल १५ हजार ५ सय ४४ जना पर्यटक सडक मार्ग हुँदै मुस्ताङ भित्रिएको प्रहरी नायव उपरीक्षक बोगटीले बताए। घटस्थापनादेखि पछिल्लो १२ दिनको अवधिमा उक्त संख्यामा पर्यटक मुस्ताङ भित्रिएकोमा दैनिक औसत तुलना गर्दा करिब १९ प्रतिशतको हाराहारीमा मुस्ताङमा पर्यटकको आवागमन वृद्धि भएको हो।