मेलम्चीबाट आएको ८ करोड लिटर पानी वाग्मतीमा

  • राजधानी पत्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक १०, शनिबार (३ महिना अघि)
  • १८६ पटक पढिएको
मेलम्चीबाट आएको ८ करोड लिटर पानी वाग्मतीमा

काठमाडौँ — मेलम्चीबाट सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा क्षमताभन्दा बढी पानी आएपछि वाग्मती नदीमा पठाइएको छ ।मेलम्ची नदीबाट अहिले दैनिक २५ करोड लिटर पानी आइरहेको छ । जसमध्ये करिब १८ करोड लिटर पानी प्रशोधन गरी उपत्यकामा वितरण गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए ।

‘प्रशोधन केन्द्रको क्षमता १७ देखि १८ करोड लिटर हो,’ उनले भने, ‘बढी पानी आएपछि वाग्मतीमा पठाइएको हो ।’ उनका अनुसार पहिला वाग्मतीबाट ५ करोड पानी प्रशोधन केन्द्रमा ल्याइन्थ्यो । अहिले त्यो पानी पनि प्रशोधन केन्द्रमा नल्याइएको उनको भनाइ छ । ‘पानीको अहिले समस्या छैन,’ उनले भने, ‘मेलम्चीको पानीले वाग्मती नदीको बहाव पनि बढाएको छ ।’

तीन महिनाअघि बन्द भएको मेलम्चीको पानी मंगलबारदेखि काठमाडौं उपत्यकामा वितरण सुरु गरिएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मुहानबाट सुरुङमा पठाइएको पानी वितरणको शुभारम्भ खानेपानीमन्त्री प्रदीप यादवले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा गरेका थिए । बर्खाका कारण बन्द गरेको तीन महिनापछि असोज २२ बाट पानी वितरण गरिएको हो ।

उपत्यकामा पानीको माग दैनिक ४७ करोड लिटर छ । पर्याप्त पानी भए पनि भौतिक संरचना नहुँदा बढी पानी वाग्मतीमा बगाइएको हो । मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु गरेको चार वर्ष बित्न लाग्दा पनि सरकारले काठमाडौं उपत्यकामा निरन्तर पानी पठाउने योजना बनाउन भने सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस