काठमाडौं : प्रहरी प्रभाग भैंसेपाटीकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीसहित ६ जनालाई मुद्दा चलाउन सिफारिस गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता होविन्द्र बोगटीले हनिट्रयाप प्रकरण मुद्दाको अनुसन्धान सकेर मंगलबार जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा प्रतिवेदन बुझाएको जानकारी दिए।
युवतीलाई गलत प्रयोग गरेर विराटनगरका एक व्यापारीलाई फसाउने धम्की दिएर उनीबाट ३० लाख असुलेको आरोप इन्सपेक्टर शाहीमाथि छ। मुद्दा चलाउन सिफारिस गरिएका ६ जनामध्ये शाही र दर्शन पोखरेल फरार रहेका छन्। यसअघि नै पक्राउ परेका भैंसेपाटीकै सहायक हवल्दार महेन्द्र हमाल, सुनसरीको इटहरीका सुष्मा विक, ताज स्लाम र भीमादेवी थापाविरुद्ध पनि संगठित अपराध र आपराधिक लाभ कसुरमा मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको हो।
उक्त मुद्दामा संलग्न भनिएका तत्कालीन जिल्ला प्रहरी परिसरका एसपी कमल थापाको संलग्नता भेटिएको छैन। सीआईबी प्रबक्ता बोगटी भने, ‘उक्त मुद्दाको अनुसन्धान गर्ने क्रममा एसपी थापाको संलग्नता पुष्टि भएको छैन। अनुसन्धानका क्रममा उहाँलाई ल्याएर बयान लिएर ठाडो कागज गरेका छौं। अहिलेसम्मको अनुसन्धानमा उहाँको संलग्नता खुलेको छैन। बयानका क्रममा एसपी थापाले भैसेंपाटी घटनामा आफ्नो संलग्नता अस्विकार गरेका छन्।’