५ पुस, काठमाडौं । गत वर्षको मंसिर पहिलो साता काठमाडौं महानगरपालिका-१ हात्तीसारमा भवन निर्माणको लागि जग खन्दा लिच्छविकालीन ढुंगेधारा (हिटी) भेटियो । त्यो धारा पुरेर भवन बनाउन थालिएपछि स्थानीयले संघर्ष समिति बनाएर प्रतिरोध गरे । त्यसको थप उत्खनन् गरेका पुरातत्वविद्हरूको अनुमान थियो- यो ढुंगाधारा नै कमलपोखरीको पानीको मूल स्रोत हुन सक्छ । काठमाडौं उपत्यकाको मध्यक्षेत्रको ढुंगेधारा, इनार र ट्युबेलको भूमिगत स्रोतमध्येको एक कमलपोखरीलाई आकर्षक बनाउने प्रयास जारी छ । यो पोखरीले आधुनिक स्वरूप पाएपछि त्यस क्षेत्रको भूमिगत पानीको स्रोतमा असर पर्छ कि पर्दैन केही समयभित्रै थाहा हुनेछ ।
काठमाडौंका पोखरीहरूको ऐतिहासिक-प्राकृतिक महत्व बुझ्नेहरूले भने कमलपोखरीलाई आकर्षक पार्ने योजनामाथि नै प्रश्न उठाइरहेका छन् । उनीहरूका अनुसार सौन्दर्यीकरण गर्ने भन्दै थालिएको कामले कमलपोखरीको मौलिकतामा प्रहार गरेको छ। यसरी कंक्रिट संरचना तयार पारेर पोखरी बनाउँदा कमलपोखरी स्विमिङ पुल बन्ने चिन्ता अभियान्ताहरूको छ । कमलपोखरीमा अहिले डोजर चलिरहेको छ । पोखरीको ऐतिहासिकता पुष्टि नभएको कारण देखाएर विगतमा रानीपोखरीमा भएकै शैलीमा काम हुँदैछ । त्यसको विरुद्ध स्वर पनि उठ्न थालेको छ । काठमाडौं महानगरपालिकाले भने त्यसलाई वास्तै नगरी कामलाई गति दिएको छ ।
कमलपोखरीको ऐतिहासिकता र पुरातात्विक महत्वबारे अहिलेसम्म अध्ययन, अनुसन्धान र अन्वेषण भएको छैन । केहीले यसलाई लिच्छविकालीन, कसैले मल्लकालीन र कतिले शताब्दी पनि नकटेको पोखरी भनेका छन् । पुरातत्वविद् सुदर्शनराज तिवारीका अनुसार यो पोखरीको आधा भाग अतिक्रमणमा परिसकेको छ । कहिले सडकका लागि त कहिले पार्क बनाउने भन्दै पोखरी मिचिएको छ । पोखरी वरपर ठूलाठूला भवनहरू थपिएका छन् । अहिले बचेको भागमा संरचनाहरू थप्ने कामले गति लिएको छ । अब महानगरपालिकोले पार्क बनाइसक्दा कमलपोखरीको स्वरूप पूरै फेरिने छ । काठमाडौं महानगरपालिका वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठ नक्साल लगायतका पुराना बस्तीको ढल आउने यो पोखरीलाई राम्रो बनाउन लागेको बताउँछन् ।
‘७७ वर्षको म यहीको बासिन्दा हुँ । मैले जान्दादेखि यो पोखरी दिसा बस्ने ठाउँ थियो,’ उनी भन्छन्, ‘यो ऐतिहासिक पोखरी हो भन्ने कुनै प्रमाण छैन । यसलाई अतिरञ्जित गर्ने काम मात्र भइरहेको छ ।’ सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधर भने कमलपोखरी ऐतिहासिक महत्वको भएको बताउँछन् । ‘यो सिम्सार क्षेत्र पनि भएकोले यसलाई सुकाएर प्राकृतिक पानी रिचार्ज प्रक्रिया अवरुद्ध पार्ने हर्कत गर्नुहुँदैन’, उनी भन्छन्, ‘पोखरीमाथि कंक्रिटका संरचना थप्नु बिल्कुलै गलत काम हो ।’ पहिले रानीपोखरीमा कंक्रिट प्रयोग गरेकाले हटाइएको कम्पनीलाई कमलपोखरी जिम्मा लगाएकोले पनि शंका भएको तुलाधर बताउँछन् । ‘कमलपोखरीको गुरुयोजनाको जानकारी पाउन सूचनाको हक अन्तर्गत निवेदन दिन परेको छ,’ उनले भने, ‘जनतासँग लुकाएर गरिएको काम रोक्न अर्को कानुनी झमेला गर्नुपर्ने अवस्था छ ।’ महानगरपालिकाले कमलपोखरीमा रानीपोखरीकै अनुभव पनि प्रयोग नगर्नु दुखद् भएको उनले बताए । स्रोत अनलाईन खबर बाट
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस