काठमाडौं, कात्तिक १९ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई पठाएको गोप्य पत्र सार्वजनिक गर्न माग गरेका छन् ।आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. रावलले भने, “यो सत्ताका निम्ति खतरानाक सौदाबाजी हो । सार्वभौम संसद् र जनताको अपमान हो । विदेशीको नांगो चाकडी हो । प्रधानमन्त्रीले जलवायु सम्मेलनजस्तो महत्त्वपूर्ण मञ्चमा जाँदा एमसीसीका कार्यकारी अध्यक्षसँग लम्पसार परेका छन्, घुँडा टेकेका छन् ।”
डा. रावलले देउवा र प्रचण्डले छुट्टाछुट्टै हो कि संयुक्त रुपमा पत्र पठाएको भन्ने प्रश्न गर्दै यो राष्ट्रघाती र गैरजिम्मेवार पत्र भएको आरोप लगाए । उनले भने, “प्रचण्ड हाम्रो मुलुकको जलस्रोत मन्त्री हुन् कि परराष्ट्र मन्त्री हुन् ? संयुक्त रुपमा पत्राचार गरेको हो भने यो राज्यको उपहास हो । यो ज्यादै लज्जाजनक छ । संवैधानिक, कूटनीतिक र राज्य सञ्चालनका मर्यादा विरोधी कुरा हो । के प्रचण्डको राजनीति एमसीसीको फल खाएर केही थान मन्त्री र प्रधानमन्त्री खाने मात्रै हो ?” एकीकृत समाजवादीका नेता माधवकुमार नेपालले एमसीसी पारित गर्न चाहेको हो भने त्यो जनतालाई मूर्ख बनाउने कुरा भएको बताए । उनले भने, “माधव नेपालकै पार्टीका नेता झलनाथ खनाल नेकपाको विदेश विभाग प्रमुख हुँदा एमसीसी अध्ययन कार्यदल बनेको थियो । त्यसले एमसीसी यथास्थितिमा पारित गर्नुहुँदैन भन्ने प्रतिवेदन दिएको थियो । अब झलनाथजीले कसरी मान्नुहोला ?”
सत्ता गठबन्धनले राजनीतिक दल विभाजन र अदालतमा कचिंगल बढाउने धन्दा चलाउनु व्यक्तिगत स्वार्थ रहेको प्रमाणित भएको उनको आरोप छ । उनले भने, “राष्ट्रघाती नेताहरुका कारण गण्डकी गयो, कोसी गयो, महाकाली गयो, माथिल्लो कर्णाली गयो । अब नेपाल उपनिवेशीकरणको बाटोमा छ । नेपाललाई अन्तर्राष्ट्रिय युद्धको रणमैदान बनाउने षड्यन्त्रको हतियार एमसीसी पारित गर्छु भन्नु कानुनको ‘क’ र राजनीतिको ‘र’ नजान्ने मानिसले भन्ने कुरा हो ।”
अर्को प्रसंगमा नेता डा. रावलले एमालेको दसौं महाधिवेशनका क्रममा सदस्यता र प्रतिनिधिमा धाँधलीको संकेत मिलेको बताए । उनले थपे, “कैलालीमा संगठन विभागले दिएको तथ्यांकभन्दा फरक सदस्यता देखियो । यसो गर्दा तत्कालका लागि कसैलाई आनन्द आउला । पदमा जानका लागि जे पनि गर्न खोज्नु पार्टीमार्फत मुलुकलाई नै खाल्डोमा हाल्नु हो ।”
महाधिवेशनमा पार्टी अध्यक्षको उम्मेदवारी दिने कि नदिने भन्ने समय आएपछि तय हुने उनले बताए । उनले भने, “महाधिवेशन भनेको नेतृत्व चयनका लागि नै हो । कुन पदमा उम्मेदवारी दिने र कसरी दिने भन्नेबारेमा कसैसँग छलफल भएको छैन । समय आएपछि जानकारी दिनेछु ।”
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस