माघेसंक्रान्ति पर्व विभिन्न समुदायले आआफ्नो परम्पराअनुसार मनाउँछन्। माघीको दिन तिलको लड्डु, चाकु, घिउ, तरुल, शखरखण्ड, खिचडी खाने प्रचलन छ। माघलाई नयाँ वर्षका रूपमा पनि मनाउने भएकाले पश्चिम नेपालका थारू बस्तीमा माघी पर्वको छुट्टै रौनक हुन्छ। दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका थारू गाउँबस्तीमा माघ सुरु हुनुभन्दा केही दिनअघिदेखि नै माघीको उल्लास र चहलपहल सुरु भइसकेको छ।पुसको अन्तिमदेखि माघ महिनाको मध्यसम्ममा थारू समुदायले माघी पर्व धुमधामसँग मनाउँछन्। माघीदेखि नै समुदायमा नयाँ कामको सुरुवात र नयाँ व्यवस्था लागू हुने भएकाले यसलाई नयाँ वर्षको रूपमा समेत मानिँदै दाङका थारू अगुवा चूर्णबहादुर चौधरी बताउँछन्। माघ लागेपछि गाउँको नयाँ अगुवा (भल्मन्सा, मतहवा, बरघर)चुन्ने काम हुन्छ।
गाउँको अगुवा ककन्दारदेखि चौकीदारसम्म चुनिने, वर्ष भरिकालागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने ? लेनदेन घर सल्लाह लगायतका विषयमा छलफल हुने भएकोले यसलाई नयाँ आर्थिक वर्षका रूपमा पनि थारू समुदायले लिने गरेको तुलसीपुर–६ मोतीपुरका थारू अगुवा छोटीलाल चौधरीले बताए।
थारूले माघीको अघिल्लो साँझ जिता मार्ने (सुँगुर वा बँगुर मार्ने) र रातभर नाचगान गर्ने प्रचलन छ। कामबाट मुक्त भएर तथा स्वतन्त्ररुपमा मनाइने भएकोले यसलाई मुक्ति दिवसका रूपमा पनि थारू समुदायले हेर्ने गरेको उनले बताए। थारू समुदायमा विशेष गरेर पुसको अन्तिम दिनदेखि माघीको प्रभाव देखिने गर्छ। अहिले थारू गाउँगाउँमा रातभर आगो बाल्ने चलनअनुसार दाउरा संकलन, पिसान कुटान, रंगरोगन, जाँड बनाउने ढिक्री पकाउने तथा खानाका विभिन्न पकवान पाकिरहेका छन्। मुख्य गरेर दाङको रिहार, बाह्रकुने लगायतका बराह क्षेत्रमा माघी विशेष हुने भए पनि यस वर्षको माघीमा भने यी धार्मिक स्थलहरू सुनसान छन्।
गाउँभरिका मानिसहरू एकठाउँमा जम्मा भएर आगो तापेर रमाइलो गर्छन्। राति आगो ताप्ने, भाले बासेसँगै नदी, खोलामा नुहाउने गर्दछन्। नुहाएर आफूभन्दा ठूलासँग आशीर्वाद लिने र सानालाई स्नेह गर्ने चलन रहेको छ। २ गते गाउँको भेला बोलाएर अगुवा छान्ने र नीति नियम बनाउने चलन छ। त्यसपछि केही दिन नाचगान गरेर पर्व मनाउने चलन रहेको छ। माघीकै अवसरमा नाचिने माघी नाच, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाचलाई नयाँ नीतिका साथ गाउँगाउँमा गरिन्छ। माघीकै अवसरमा घरघरमा नाचगान गरेर दक्षिणासमेत उठाउने चलन रहेको छ। समुदायमा युवा–युवती माघी खेल्ने गरेका छन्।माघी मेला महोत्सव
माघेसंक्रान्ति अर्थात् मकर संक्रान्तिको अवसरमा पश्चिम नेपालका थारू बाहुल्य क्षेत्रमा माघी मेला र महोत्सवहरू सुरु भएका छन्। बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं. ३ वनघुस्रीमा चार दिने भुवरभवानी माघी मेला सुरु भएको छ। राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले शनिबार मेलाको उद्घाटन गरेका हुन्। भुवरभवानी मन्दिर क्षेत्रमा झन्डै पाँच दशकदेखि माघी मेला लाग्दै आएको छ। मेलामा खुला भलिबल प्रतियोगिता पनि आयोजना गरिएको छ। यसअघि थारू कल्याणकारी सभाले नेपालगन्जमा माघी महोत्सव आयोजना गरेको थियो।
त्यसैगरी बर्दियाको पर्यटकीय नगरी ठाकुरबाबा नगरपालिकाको ठाकुरद्वारामा रहेको ठाकुरजीको मन्दिरमा परम्परागत धार्मिक मेला सुरु भएको छ। १२ औं शताब्दीमा मूर्ति स्थापना गरिएको ठाकुरबाबाको मन्दिर परिसरमा माघीको दिन धार्मिक मेला लाग्दै आएको ठाकुरद्वारा मन्दिर ब्यवस्थापन तथा विकास समितिका अध्यक्ष रुद्रबहादुर खड्काले जानकारी दिए। यो वर्ष करिब ६० हजार तीर्थालुहरू मन्दिरमा भित्रिने समितिको अनुमान छ।
ठाकुरद्वारा मन्दिरमा लाग्ने मेला परम्परागत हो। थारू समुदायहरू माघी स्नान गरी जल ल्याएर ठाकुरजीको मूर्तिमा जल चढाएपछि माघी सुरु हुने परम्परा छ। माघीको अर्कोदिन थारू तथा मगर समुदायको नृत्य प्रस्तुति हुन्छ। त्यसपछि डेउढालगायत विभिन्न जातजातीका स्थानीय नृत्य प्रस्तुत हुन्छ।
माघी मेलाकै अवसर पारेर मेला परिसरमा संरक्षणलगायत पर्यटनसम्बन्धी सचेतनामूलक कार्यक्रम पनि आयोजना गरिएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यले बताए। त्यसैगरी थारू कल्याणकारीणी सभा बर्दियाले सदरमुकाम गुलरियाको टाउन हलमा माघ २ गते माघी महोत्सव आयोजना गर्दैछ। थारू समुदायको मौलिक कला, साहित्य र संस्कृति जगेर्नाका लागि महोत्सव आयोजना गरिएको सभाका अध्यक्ष वीरबहादुर चौधरीले बताए।
माघी पर्वलाई लक्षित गर्दै बर्दियाको बारबर्दियास्थित कुमरागाउँमा सालिन नेपाल नामक संस्थाले सांस्कृति मेला तथा बर्दिया उद्योग वाणिज्य संघले राजापुर महोत्सवको आयोजना गरेको छ। मगर संघ बर्दियाले माघीको पूर्वसन्ध्यामा शनिबार गुलरियामा माघी मिलन कार्यक्रम आयोजना गरेको थियो। नेपाल सरकारले माघी पर्वका दिन राष्ट्रिय विदा दिने गरेको छ।नेपालभर सबैले आ–आफ्नो परम्परा र संस्कृतिअनुसार यस पर्वलाई मनाउने भएकाले नै यो पर्व नपालीहरूमा अझै लोकप्रिय बनेको छ। यसले आपसी भाइचारा, सामाजिक सद्भाव, पारिवारिक मेलमिलापलगायत विभिन्न दृष्टिमा समाजलाई जोड्ने काम गरेको छलोप हुँदै संस्कृति
सुर्खेतका थारू समुदायको लोक संस्कृति (कला, संस्कृति र सभ्यता) लोप हुने अवस्थामा छ। वीरेन्द्रनगर नगरपालिका–९ तीलपुरका मानवीर थारू सूचना प्रविधि, युवा पुस्तामा देखिएको देखासिकी लगायतका कारण थारू समुदायको लोक संस्कृति संरक्षणमा चुनौती थपिएको बताउँछन्। उनी भन्छन्, ‘थारू संस्कृति जर्गेनाका लागि होमस्टे तथा अन्य संघसंस्था, क्लबहरू बनाएर लाग्नुपर्ने अवस्था छ।’
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाभित्र ३८ बस्तीमा थारू समुदाय बसोवास छ। वडा नं. ९ मा मात्रै थारूका ८ गाउँ छन्। सुर्खेतमा २०४९ सालदेखि थारू समुदायका अगुवासंस्कृति जर्गेनामा लागेका छन् तर नयाँ पुस्ताले पुरानो संस्कृति छोड्दै आएका छन्।
थारू समुदायमा योगदान गर्नेहरू थारू रत्न र थारू गौरव पुरस्कारबाट सम्मानित हुँदै
थारू माघीले जोडेको संसार
संस्कृति संरक्षणकै लागि वीरेन्द्रनगर–९ कालिमाटेमा कला संस्कृति, रहनसहन र सभ्यता झल्किने थारू संग्रहालय पनि बनाइएको छ। नवनिर्मित संग्रालयमा थारू कला र संस्कृति झल्किने सामग्रीहरू राखिएको छ। थारू अगुवा मानबहादुर चौधरीले थारूको लोक संस्कृति संरक्षणका लागि अभियान थालेको बताए। सुर्खेतका कोल्डाँडा, तातापानी, ठउरी, फलाँटे, जैपुर, तिलपुरलगायतका बस्तीहरू अहिले पनि थारूको बाक्लो बस्ती छ तर विगतको तुलनामा समुदायहरू छरिएर बस्नु, नयाँ पुस्ताले पुरानो लोक संस्कृतिप्रति चासो कम दिनु, थारू समुदायभित्र अन्य समुदायको पनि घुलमिल हुने जस्ता कारण हाम्रो लोक संस्कृति ओझेलमा पर्ने अवस्था आएको हो।
थारू समुदायमा नाचिने विभिन्न नाचहरू, बनाइने परिकारहरू, बोलिने भाषा तथा संस्कृतिका जर्गेनाका लागि विभिन्न कार्यक्रम बेलाबेलामा भइरहन्छन्। थारू बस्तीमा दशैंदेखि विभिन्न महिनामा भिन्दाभिन्दै नाचहरू हुन्छन्।
स्थानीय कालुराम थारूले १२ महिना नाचिने बड्का नाच, मुरुगरौवा नाच, कठघोरी नाच, झुम्रा, हुर्दुङ्गवा नाच, झर्रा र मुङ्गरौवा नाच लोप हुने अवस्थामा रहेको भन्दै चिन्ता ब्यक्त गरे। साखिया, झुम्रा, मयूर र र्हुदंगवा, देशौरे नाच हिजोआज थारू होमस्टेलगायत संस्कृति कार्यक्रममा नाचिने नाच भएका छन्।
शंकरप्रसाद खनाल/नेपालगन्ज , गोपाल शर्मा भट्टराई/दाङ, यादव आचार्य /बर्दिया बिस्नप्रसाद न्यौपाने/सुर्खेत
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस